काठमाडौं । सहकारी ठगी काण्डमा उच्च अदालतको आदेशले थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई छुटाउन चलेको हस्ताक्षर अभियानमा सहभागी एक ट्राफिक प्रहरी कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई हेडक्वार्टरले छानविनमा तानेको हो ।
सहकारी ठगीको मुद्दामा उच्च अदालत बुटवलको आदेशले पुर्पक्षका लागि भैरहवा कारागार गएका लामिछानेलाई बाहिर निकाल्न रास्वपाले देश तथा विदेशमा हस्ताक्षर अभियानमा चलाइरहेको छ । सोही क्रममा रास्वपा जिल्ला समिति बाँकेले नेपालगञ्जमा गरेको कार्यक्रममा पुगेर सई खड्काले प्रहरी पोशाकमै हस्ताक्षर गरेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो ।
प्रहरीको आचारसंहिता र मर्यादाविपरित कारागारमा रहेका व्यक्तिलाई छुटाउन हस्ताक्षर गरेपछि खड्का विभागीय कारवाहीमा परेका हुन् ।
रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेको भन्दै चर्चित कलाकारहरूले हस्ताक्षर गरेका छन् । शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थली पुगेर कलाकारहरू अशोक शर्मा, रमेश उप्रेती, किरण केसी, रामचन्द्र अधिकारी, खेम सेन्चुरीलगायत कलाकारहरुले हस्ताक्षर गरेका हुन् ।