काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशनमा दिएमा आफूले सभापति पद छोड्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा उनले पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न तयार रहेको बताएका हुन् ।
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को दफा ८२ मा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था समितिबाट पारित भएको भन्दा फरक प्रावधान देखिएपछि सभापति खतिवडा विवादमा परेका छन् । समिति बैठकमा सत्ताको नेतृत्वकर्ता एमाले र उनकै पार्टी कांग्रेसका सांसदले समेत खतिवडाको राजीनामा मागेका छन् ।
संसदीय समितिबाट राजीनामा मागिएको विषय उठाउँदै खतिवडाले भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्ने निर्देशन दियो भने म बाहिर बस्न तयार छु ।’ समितिले सभामुख देवराज घिमिरेलाई संसदीय समिति बनाउन आग्रह गरेको छ । जसअनुसार घिमिरेले समितिमा बस्ने सांसदहरूको नाम मागेका छन् ।
यदि पार्टीले निर्देशन नदिएमा खतिवडाले प्रतिवेदन सार्वजनिक नभएसम्म राज्य व्यवस्था समितिको बैठकमा नजाने घोषणा गरेका छन् । माओवादी, रास्वपा, राप्रपालगायत दलले समेत खतिवडालाई नैतिकताका आधारमा पद छाडिदिन आग्रह गरेका छन् । तर उनले कुलिङ पिरियड छलछाममा आफ्नो गल्ती नभएको दाबी गर्दै आएका छन् ।