तरुण संवाददाता
२३ असार २०८२, सोमबार १५:२३
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणको औपचारिक विवरण प्रस्तुत गरेका छन्। उनले स्पेन भ्रमण फलदायी भएको दाबी गरेका छन् ।
सोमबारको बैठकमा उनले राष्ट्रसंघद्वारा आयोजना गरिएको विकास वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र प्रस्तुत विचारबारे जानकारी गराए।
ओलीले स्पेन भ्रमणको उपलब्धि सुनाउँदा रास्वपा र राप्रपा सांसद भने संसदमा थिएनन् । उनीहज्ञ बैठक बहिष्कार गरेर हिँडेका थिए ।
प्रधानमन्त्री ओली असार १४ गते नेपालको नेतृत्व गर्दै स्पेनको राजधानी म्याड्रिड प्रस्थान गरेका थिए। असार २० गते स्वदेश फर्किएका उनले सम्मेलनमा सहभागी राष्ट्रहरूसँग भएको छलफल, नेपालले उठाएका मुद्दा र अन्तर्राष्ट्रिय समुदायसँग भएका संवादबारे सांसदहरूलाई जानकारी दिए। उनको भ्रमण राष्ट्रसंघीय तहमा विकास वित्तको पहुँच, पारदर्शिता र दीगो विकास लक्ष्यमा वित्तीय स्रोत परिचालन जस्ता विषयमा केन्द्रित भएको बताइएको छ।
प्रधानमन्त्रीले नेपालको आर्थिक आवश्यकताका पक्षमा अन्तर्राष्ट्रिय सहयोग र लगानीको खाँचो औँल्याउँदै सम्मेलनमा नेपालले स्पष्ट र सशक्त आवाज उठाएको उल्लेख गरेका थिए। ‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको छ,’ उनले भने, ‘विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको छ। आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानीवृद्धि हुने अपेक्षा गरिएको छ।’
सम्मेलनका अवसरमा अतिकम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए। नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरु रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरु सामु प्रभावकारी नेतृत्व गर्न सक्के झल्को दिएको स्पष्ट गरे।
सम्मेलनको अघिल्लो दिन प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलालाई सम्बोधन गरी सशक्त नागरिक समाजको खबरदारीपूर्ण भूमिकाको लागि आव्हान गरेको जानकारी गराए। नेपालले नागरिक समाजका लागि लोकतान्त्रिक र उदार व्यवस्था लिएको पनि प्रधानमन्त्री ओलीले अवगत गराएका थिए। सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो।


