बालुवाटारबाटै शासन चलाउँदै ओली, त्रिवि सभा निवासमै

बालुवाटारबाटै शासन चलाउँदै ओली, त्रिवि सभा निवासमै तरुण संवाददाता २६ असार २०८२, बिहीबार १०:०९
बालुवाटारबाटै शासन चलाउँदै ओली, त्रिवि सभा निवासमै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फेरि पनि निजी निवास बालुवाटारबाटै शासन सत्ता चलाउन थालेका छन् । नेकपा कालमा तीन वर्षसम्म बालुवाटारबाटै सरकार सञ्चालन गरेपछि ओलीको लोकप्रियता ह्वात्तै घटेको थियो । अहिले फेरि पनि उनी त्यसमै उद्यत देखिएका छन् ।

ओलीले त्रिभुवन विश्वविद्यालयको वार्षिक सभा (सिनेट) सरकारी निवास बालुवाटारमा डाकेका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बैठक बिहीबार बिहान १० बजेका लागि बोलाएपछि उनी आलोचित भएका छन् ।

त्रिविको वार्षिक सभा प्रत्येक वर्ष आषाढ शुक्ल नवमीमा बस्ने परम्परा भए पनि कुलपति ओलीले असार २२ गते बते बोलाका थिए। तर उनी बेलिब्रिज पुल उद्घाटन गर्न हुम्ला गएपछि बैठक स्थगित भएको थियो। प्रधानमन्त्रीको अनुकूलतामा मिति र बैठक बस्ने स्थान तय गरिएको भन्दै कतिपय पदाधिकारी असन्तुष्ट छन्। बैठक विश्वविद्यालयमै बस्नुपर्ने उनीहरूको अडान छ।

विश्वविद्यालयको शैक्षिक स्वायत्तता र परम्पराको दृष्टिले बैठक स्थलको परिवर्तनप्रति उनीहरूले आपत्ति जनाएका छन् । बिहीबार त्रिविको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने छ । साथै ९० हजार विद्यार्थीको ग्रेस लिष्टसमेत पारित गर्ने कार्यसूची छ ।

त्रिवि सभामा विद्यार्थी प्रतिनिधिसमेत रहने व्यवस्था छ । तर, यसपटक भने विद्यार्थी प्रतिनिधि नियुक्ति गर्न बाँकी रहेकाले सभामा उनीहरूको सहभागिता नहुने भएको छ । प्रधानमन्त्री ओलीले सभामा विद्यार्थी राख्दा बढी प्रश्न उठाउने र बैठक लम्बिने भन्दै कार्यकारी परिषद्लाई विद्यार्थी प्रतिनिधि नियुक्ति नगर्न निर्देशन गरेको बताइएको छ ।