तरुण खबर
२६ असार २०८२, बिहीबार २०:४४
काठमाडाैं, २६ असार । नेपालको लोकप्रिय बियर ‘बारासिंगे’ को उत्पादक याक ब्रुइङ कम्पनीले चालु आर्थिक वर्षको पहिलो १० महिनामै १ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बिक्री गर्दै आफ्नो व्यावसायिक यात्रामा नयाँ उचाइ हासिल गरेको छ। यो कम्पनीको हालसम्मकै उच्च १० महिने बिक्री हो।
कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर बिक्री वृद्धि गरिरहेको तथ्याङ्कले देखाएको छ। सन् २०२२ मा ९७ करोड २० लाख रुपैयाँको बिक्री गरेको याक ब्रुइङले सन् २०२३ मा ९२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २०२४ मा भने बिक्रीमा उल्लेख्य वृद्धि भई १ अर्ब २७ करोड रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतको वृद्धि हो।
चालु आर्थिक वर्षको १० महिनामै १ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बिक्री पुगेको कम्पनीले जनाएको छ। यस अवधिमा कम्पनीले ३.०१ प्रतिशत खुद नाफा पनि आर्जन गरेको छ।


