तरुण खबर
२६ असार २०८२, बिहीबार २२:०७
काठमाडाैं, २६ असार । आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी-२० विश्वकप एसिया, इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल दोस्रो समूहमा परेको छ। विश्वकपमा स्थान बनाउने लक्ष्यसहित नेपालले जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
छनोट प्रतियोगितामा कुल ९ टोलीलाई तीनवटा समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा यूएई, मलेसिया र कतार रहेका छन्। नेपाल, जापान र कुवेत समूह ‘बी’ मा परेका छन्। त्यस्तै, समूह ‘सी’ मा ओमान, सामोआ र पपुवा न्युगिनी छन्।
प्रतियोगिताको ढाँचाअनुसार, हरेक समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष तीन टोलीले आईसीसी टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन्।
नेपालले हालसम्म दुईपटक टी-२० विश्वकप खेलेको छ। पहिलो पटक सन् २०१४ मा विश्वकपमा सहभागी भएको नेपालले त्यसको एक दशकपछि गत वर्ष दोस्रोपटक विश्वकप खेलेको थियो।
विश्वकप छनोटअघि नेपालले आफ्नो तयारीलाई थप बलियो बनाउन अस्ट्रेलियामा ‘टप एण्ड क्रिकेट’ खेल्नेछ। त्यसपछि यूएईमा वेस्ट इन्डिजसँग टी-२० सिरिज खेलेर छनोट प्रतियोगिताका लागि आफूलाई तयार पार्नेछ।


