तरुण खबर
२७ असार २०८२, शुक्रबार ११:३९
काठमाडौं, २७ असार । अर्थमन्त्री विष्णु पौडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विद्युतीय सवारी साधन (ईभी) मा लाग्ने करलाई स्थिर राखिएको जानकारी दिएका छन्। उनले यो कदम नेपालमा ऊर्जा खपत बढाउने सरकारी योजनाको एक हिस्सा भएको स्पष्ट पारे।
मन्त्री पौडेलले बजेटमार्फत विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने नीति लिइएको बताउँदै आफू करका नीति र करका दरमा स्थिर नीति लिएको उल्लेख गरे। उनले बजेट ल्याउनु मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन गर्नु पनि आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेकोमा जोड दिए। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि तयारी भइरहेको पनि उनले जानकारी गराए।
अर्थमन्त्री पौडेलले बजेटमा ‘टेक एन्ड पे’ (Take and Pay) को विषयमा सुरुमा केही अन्योल देखिए पनि अहिले स्पष्ट पारिएसँगै बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादक लगायतका सबै सरोकारवालाहरू सन्तुष्ट रहेको र अवस्था सामान्यीकरण हुँदै गएको बताए। यसले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकता दिन प्रतिबद्ध रहेको सन्देश दिएको छ।


