तरुण खबर
२७ असार २०८२, शुक्रबार ११:४७
इलाम, २७ असार । इलाम जिल्लाका किसानहरूले आधुनिक कृषि प्रणाली अंगाल्नका लागि कृषि औजारमा अनुदान पाएपछि खेतीयोग्य जमिन विस्तार गर्न थालेका छन्। स्थानीय सरकारहरूले कृषि औजारमा ७५ प्रतिशतसम्म अनुदान दिएपछि किसानहरूमा उत्साह छाएको हो।
माइ जोगमाई गाउँपालिका-३ का किसान हरि ढकालले पावर टिलर (हाते ट्र्याक्टर) मा अनुदान पाएपछि आफ्नो खेती विस्तार गरेका छन्। गाउँपालिकाले पावर टिलरमा ७५ प्रतिशत अनुदान उपलब्ध गराएको हो।
त्यसैगरी, सोही गाउँपालिकाको प्रामेजुङ गाउँका चन्द्र भण्डारीले पनि चिया टिप्ने मेसिन अनुदानमा पाएपछि व्यावसायिक खेतीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। “पहिलेको तुलनामा उत्पादन बढ्ने अपेक्षा गरिएको छ,” भण्डारीले भने।
कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले बिहीबार किसानहरूलाई हाते ट्र्याक्टर र चिया टिप्ने मेसिन वितरण गरेको थियो। कृषि औजार पाएपछि किसानहरू खेती गर्न उत्साहित भएको बताएका छन्।
गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले किसानहरूलाई अनुदानमा कृषि औजार उपलब्ध गराउँदा उनीहरूमा उत्साह भर्न र व्यावसायिक खेती प्रवर्द्धन गर्न उच्च सम्भावना रहेको बताए। उनका अनुसार, बिहीबार १३ वटा हाते ट्र्याक्टर र १७ वटा चिया टिप्ने मेसिन वितरण गरिएको थियो। कोशी प्रदेश सरकारबाट ससर्त अनुदान कार्यक्रमअन्तर्गत प्राप्त यी कृषि उपकरणहरूका लागि किसानहरूले कुल लागतको २५ प्रतिशत योगदान गरेका थिए।
गाउँपालिका अध्यक्षले वितरण गरिएका मेसिनहरूको प्रयोग र प्रभावकारिताका बारेमा अनुगमन गरिने पनि बताए ।


