तरुण खबर
२७ असार २०८२, शुक्रबार १३:१२
काठमाडाैं, २७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै निजी आवासीय घर निर्माण गर्न वा खरिद गर्न प्रवाह हुने कर्जाको सीमा बढाएको छ। यसअघि २ करोड रुपैयाँ रहेको यस्तो कर्जाको सीमा अब ३ करोड रुपैयाँ पुर्याइएको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यो जानकारी गराएकाे हो। घरजग्गा बजारलाई चलायमान बनाउन र सर्वसाधारणलाई घर निर्माण तथा खरिदमा सहजता प्रदान गर्न यो नीतिगत निर्णय गरिएको बताइएको छ।
यो वृद्धिसँगै अब निजी घर निर्माण वा खरिद गर्न चाहने व्यक्तिहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट बढी रकम कर्जाका रूपमा प्राप्त गर्न सक्नेछन्। यसले शहरी क्षेत्रमा घरजग्गाको मागलाई थप प्रोत्साहन गर्न सक्ने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


