तरुण खबर
२९ असार २०८२, आईतवार ११:२७
काठमाडाैं, २९ असार । काठमाडौं महानगरपालिकाले लामो आन्तरिक गतिरोध तोड्दै आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ। शुक्रबार मेयर बालेन्द्र शाहको कार्यालयमा उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वडा प्रतिनिधिहरूको उपस्थितिमा भएको निर्णायक बैठकपछि बजेट प्रस्तुत गर्ने निर्णय भएको हो।
महानगरपालिकाको नगरसभामा आज उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्नुहुनेछ। बजेट सीमा निर्धारण समितिले तोकेको खाकाअनुसार, कुल बजेटको सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकासमा विनियोजन गरिएको छ। यसअनुसार, बजेटको ५१ प्रतिशत पूर्वाधार क्षेत्रमा, २० प्रतिशत सामाजिक विकासमा, १४ प्रतिशत प्रशासनिक सञ्चालनमा, १२ प्रतिशत सुशासनमा र ३ प्रतिशत आर्थिक कार्यक्रमहरूका लागि छुट्याइएको छ।
कानुनी प्रावधानअनुसार असार १० गते (जुन २४) मै प्रस्तुत गरिनुपर्ने बजेट मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीचको विवादका कारण रोकिएको थियो। मेयर शाहले प्रमुख प्रशासकीय अधिकृतलाई बाइपास गरी बजेट प्रस्तुत गर्ने प्रयास गर्नुभएको भए पनि निर्वाचित सदस्यहरूको समर्थन नपाएपछि त्यो सफल हुन सकेको थिएन।


