तरुण खबर
२९ असार २०८२, आईतवार ११:४६
काठमाडाैं, २९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको औपचारिक सुरुवात गरेका छन्। यसका साथै, मन्त्री पौडेलले अस्पतालमा जडान गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवाको पनि उद्घाटन गरेका छन्। यी दुवै सेवा विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ सहयोग गरेको थियो।
सेवाको शुभारम्भ गर्दै मन्त्री पौडेलले टिचिङ अस्पतालमा नागरिकको भरोसा बढी रहेको र सरकारी अस्पतालहरूमा धेरै बिरामी आउनुको मुख्य कारण यही भएको बताए। अस्पतालमा थपिएको नयाँ सेवाले धेरै नागरिकलाई सुपथ र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्दै मन्त्री पौडेलले टिचिङको सेवालाई अझ आधुनिक र क्षमता विस्तारमा मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता जनाए।
अस्पतालका निर्देशक प्रा. डा. सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएकोमा खुसी व्यक्त गर्दै अब बिरामीले धेरै पैसा तिरेर एमआरआईका लागि अस्पताल बाहिर जानु नपर्ने बताए। बिरामी संख्या अत्यधिक हुँदा इमर्जेन्सीमा शैय्या अभाव भई कतिपय अवस्थामा एकै बेडमा दुई जनासम्म बिरामी भर्ना गर्नुपर्ने बाध्यता थियो। यस समस्यालाई सम्बोधन गर्न अस्पतालले इमर्जेन्सी ग्रीन एरियामा १५ शैय्या थप गरेको हो। यसअघि यहाँ आठ बेड मात्र हुँदा बिरामीहरूले सास्ती भोग्नुपरेको थियो। अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन्। कम गम्भीर बिरामी रहने यल्लो एरियामा भने अब २० शैय्या रहनेछ।


