टेस्लाको भारत प्रवेश: मुम्बईमा पहिलो अनुभव केन्द्र उद्घाटन हुँदै, विद्युतीय सवारी बजारमा नयाँ युगको सुरुवात

टेस्लाको भारत प्रवेश: मुम्बईमा पहिलो अनुभव केन्द्र उद्घाटन हुँदै, विद्युतीय सवारी बजारमा नयाँ युगको सुरुवात तरुण खबर ३० असार २०८२, सोमबार ११:३५
टेस्लाको भारत प्रवेश: मुम्बईमा पहिलो अनुभव केन्द्र उद्घाटन हुँदै, विद्युतीय सवारी बजारमा नयाँ युगको सुरुवात

काठमाडाैं, ३० असार । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले भारतमा आफ्नो औपचारिक प्रवेशको संकेतस्वरूप सोमबार मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्स (BKC) मा आफ्नो पहिलो अनुभव केन्द्र (Experience Center) उद्घाटन गर्दैछ। करिब ४,००० वर्गफुटमा फैलिएको यो केन्द्र प्रारम्भिक रूपमा टेस्लाका गाडीहरूको प्रदर्शनी स्थलका रूपमा प्रयोग गरिने छ भने परीक्षण ड्राइभ (Test Drive) र गाडी डेलिभरी सेवा केही समयपछि सुरु गरिने बताइएको छ।

टेस्लाले उद्घाटन अघि नै करिब १० लाख अमेरिकी डलर (झण्डै ८ करोड भारु) बराबरका ५ वटा मोडेल वाई (Model Y) एसयूभीहरू चीनको शङ्घाई कारखानाबाट भारत ल्याइसकेको छ। भारतको उच्च आयात शुल्क प्रणालीअनुसार प्रत्येक गाडीमा ७० प्रतिशतसम्म आयात शुल्क लाग्ने अनुमान गरिएको छ, जसले गर्दा यी गाडीहरूको मूल्य ५६,००० अमेरिकी डलर (झण्डै ४७ लाख भारु) भन्दा माथि पुग्ने सम्भावना छ।

टेस्लाको अनुभव केन्द्रमार्फत ग्राहकलाई इलेक्ट्रिक सवारी प्रविधिको अवलोकन र जानकारी दिइनेछ। यद्यपि सुरुवातमा डेलिभरी र टेस्ट ड्राइभ सेवा सुरु नहुने टेस्लाले स्पष्ट पारेको छ। कम्पनीले प्रत्यक्ष बिक्री प्रणालीमार्फत भारतीय बजारमा ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्ने योजना बनाइरहेको छ।

भारतमा विद्युतीय सवारीको माग तीव्र गतिमा बढिरहेको सन्दर्भमा टेस्लाको आगमनले मूल्य प्रतिस्पर्धा, प्रविधिमा नवाचार र ग्राहक आकर्षणमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ। टेस्लाले भारतीय बजारमा आवश्यकताअनुसार शोरूम विस्तार गर्ने र नयाँ कर्मचारी भर्ना गर्ने तयारी पनि थालेको छ।

टेस्लाको यो रणनीतिक सुरुवातले भारतलाई विद्युतीय सवारी साधनको विश्वबजारमा अग्रणी स्थानमा पुर्‍याउने दिशामा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, मुम्बईमा स्थापना गरिएको अनुभव केन्द्र टेस्लाको भारतीय यात्राको पहिलो कदम मानिएको छ, जसले भविष्यमा स्थानीय उत्पादन र विस्तारित सेवाहरूलाई पनि मार्गदर्शन गर्नेछ।