तरुण खबर
३० असार २०८२, सोमबार १३:४७
काठमाडाैं, ३० असार । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। दुवै दलले आफ्ना माग पूरा नभएको भन्दै संसद अवरुद्ध गर्ने अडान कायमै राखेका हुन्।
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै राप्रपा र रास्वपाका सांसदहरू आ-आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद अशोक चौधरीलाई बोल्ने समय दिए। सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफूहरूको मागबमोजिम छानबिन समिति गठन नभएकाले बैठकमा सहभागी नहुने भन्दै विरोध जारी राख्ने बताए।
चौधरीपछि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्ने मौका दिए। लिङ्देनले पनि आफूहरूले माग गर्दै आएको भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन नभएसम्म आफ्नो पार्टीको विरोध जारी रहने दोहोर्याए।
दुवै दलका सांसदहरूले आफ्ना भनाइ राखिसकेपछि रास्वपा र राप्रपाका सम्पूर्ण सांसदहरू संसदीय हलबाट बाहिरिएका थिए, जससँगै उनीहरूले बैठक बहिष्कार गरेको स्पष्ट भएको छ।


