तरुण खबर
३१ असार २०८२, मंगलवार ११:२९
काठमाडाैं, ३१ असार । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यले पछिल्लो समय तीव्र गति लिएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन यस सुरुङमार्गको ‘ब्रेकथ्रु’ भएसँगै कामले थप गति लिएको हो।
सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीका अनुसार, हालसम्म सुरुङको ५७.५१ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ। उनका अनुसार, मुख्य सुरुङको भुइँ (इन्भर्ट) को १,०८९ मिटर निर्माण कार्य सम्पन्न भइसकेको छ। दायाँ र बायाँतर्फको ८३४ मिटर लाइनिङको काम पनि सकिएको इन्जिनियर ज्ञवालीले जानकारी दिए। हाल सुरुङभित्र २९२ मिटर लाइनिङको काम भइरहेको छ।
सुरुङका तीनवटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो १३० मिटरका छन्। पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङको काम सम्पन्न भएको छ। तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र ३० मिटर लाइनिङको काम सकिएको उनले बताए।
दुई लेनको मुख्य सुरुङ १,०८९ मिटर लामो, १०.५ मिटर चौडा र करिब सात मिटर अग्लो हुनेछ। आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार, इन्भर्ट र लाइनिङको काम सकिएपछि एक/दुई महिनाभित्रै बत्ती, सञ्चार र सुरक्षा उपकरण जडानको काम सुरु गरिनेछ। मुख्य सुरुङको मुख्य भागमा अत्यावश्यक सवारी साधनको आवागमनका लागि बाटो खुला गरिएको छ।
बुटवल-तानसेन सडकखण्डअन्तर्गत सिद्धार्थ राजमार्गको माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको १,१२६ मिटर सुरुङ निर्माण कार्य २०७९ सालमा सुरु भएको थियो। यस आयोजनाको मुख्य सुरुङको ‘ब्रेकथ्रु’ यसअघि नै सम्पन्न भइसकेको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७.३४ अर्ब रुपैयाँको लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना २०८३ सालमा पूरा गर्ने लक्ष्य रहेको आयोजना कार्यालयले जनाएको छ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको खण्ड पहिरोको उच्च जोखिममा रहेको क्षेत्र हो। सुख्खा मौसममा पनि धुलाम्मे पहिरो खस्ने भएकाले यस सडकखण्डलाई सुरक्षित बनाउन सुरुङ निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताउनुभयो। यो सडकखण्ड गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र म्याग्दीसम्म सवारी साधन सञ्चालनका लागि प्रयोग हुँदै आएको छ।
सुरुङको काम अनुगमनका लागि पुग्नुभएका प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले तोकिएको समयमै काम सम्पन्न गर्न जनप्रतिनिधिहरूले आवश्यक सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभयो। सार्वजनिक प्रतिनिधि, सुरक्षा निकाय र विभिन्न सरोकारवालाहरूले सुरुङको कामको प्रगति नियमित रूपमा अनुगमन गर्दै आएका छन्।


