तरुण खबर
३२ असार २०८२, बुधबार ११:१०
काठमाडाैं, ३२ असार । नेपाल राष्ट्र बैंक (NRB) ले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा गरिएको लचकता र बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि वाणिज्य बैंकहरूले श्रावण महिनाका लागि ब्याजदर घटाएका छन्। यसले निक्षेपकर्ताहरूलाई कम प्रतिफल प्राप्त हुने अवस्था सिर्जना भएको छ।
राष्ट्र बैंकले हालै नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको थियो, जसले अन्य प्रमुख ब्याजदरहरूमा पनि कटौती गर्न बैंकहरूलाई प्रेरित गरेको छ। यसको प्रत्यक्ष प्रभावस्वरूप, १४ वटा वाणिज्य बैंकहरूले आफ्नो अधिकतम मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्, जबकि ४ वटा बैंकले ब्याजदर यथावत राखेका छन् भने २ वटा बैंकले सामान्य वृद्धि गरेका छन्।
श्रावण महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारमा ५.९०२ प्रतिशत रहेकोमा घटेर ५.६८७ प्रतिशतमा झरेको छ। बैंकहरूले दीर्घकालीन निक्षेपहरूमा केही राम्रो ब्याजदर प्रस्ताव गरे पनि, कर्जा प्रवाहमा सुस्तताका कारण प्रणालीमा ६९२ अर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएको छ। राष्ट्र बैंकले असार मसान्तसम्ममा ६९२.६५ अर्ब रुपैयाँ अधिक तरलता प्रणालीबाट खिचेको छ, जुन गत वर्षको तुलनामा झन्डै दोब्बर हो।


