मधेश प्रदेशमा खानेपानी संकट समाधानका लागि प्रदेश सरकारको सक्रियता:

मधेश प्रदेशमा खानेपानी संकट समाधानका लागि प्रदेश सरकारको सक्रियता: तरुण खबर ३२ असार २०८२, बुधबार १३:३१
मधेश प्रदेशमा खानेपानी संकट समाधानका लागि प्रदेश सरकारको सक्रियता:

काठमाडाैं, ३२ असार । वीरगन्जलगायत मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले सक्रियता देखाएको छ। प्रदेश सरकारले बुधबार बिहानैबाट खानेपानी आपूर्ति गर्न वारुणयन्त्रहरू परिचालन गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाउँदै सरकार नागरिकको समस्या समाधानमा समर्पित रहेको बताएका छन्।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्रहरू अति प्रभावित क्षेत्रमा पठाइएको हो। प्रत्येक वारुणयन्त्रले ५ हजार लिटर क्षमताका दरले एकै पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गर्ने जनाइएको छ। यी वारुणयन्त्रहरू २४ घण्टा सञ्चालनमा रहनेछन्, जसको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ भने सञ्चालनको जिम्मेवारी नेपाली सेनाले लिएको छ।

यसअघि पनि प्रदेश सरकारले वन कार्यालयका तीनवटा ट्याङ्करमार्फत प्रभावित क्षेत्रमा पानी आपूर्ति गरिरहेको थियो। यसका साथै, नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र समेत पठाउने तयारी भइरहेको जनाइएको छ, जसले पानी आपूर्तिको क्षमतालाई अझ बढाउनेछ।

मुख्यमन्त्री सिंहले भने, ‘सुक्खा र खानेपानी संकटका कारण पीडित नागरिकसँग प्रदेश सरकार साथमा छ। संघीय सरकार, स्थानीय सरकार र दातृ निकायहरूसँग समन्वय गरी साधनस्रोतको अधिकतम प्रयोग गरेर समस्या समाधान गर्ने प्रयासमा छौं।’ खानेपानी संकटले प्रभावित नागरिकलाई तत्काल राहत दिने उद्देश्यले प्रदेश सरकारले आफ्ना सबै संयन्त्र र स्रोत परिचालन गरेको जनाएको छ।