तरुण खबर
१ श्रावण २०८२, बिहीबार १४:५१
काठमाडाैं, १ साउन । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटाअन्तर्गत प्रवेश परीक्षाबाट १६ हजार १३७ विद्यार्थी छनोट गरेको छ। देशभरका ७७ वटै जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये यी विद्यार्थीहरू छनोट भएका हुन्।
महानगरपालिकाको शिक्षा विभागका अनुसार, नागरिकता वा जन्मदर्ता (परिचयपत्रका रूपमा), सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण, निजी विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको प्रमाण, वा काठमाडौं महानगरपालिकामा स्थायी बसोबासको प्रमाणजस्ता आवश्यक कागजातहरू समावेश गर्न नसकेका कारण १ हजार ९२ वटा आवेदनहरू अस्वीकृत भएका थिए।
छनोट भएका विद्यार्थीहरूमध्ये विज्ञान संकायमा ११ हजार ५९० जना, व्यवस्थापनमा ४ हजार १६४ जना, मानविकीमा ३२ जना, शिक्षामा ९५ जना र कानुन संकायमा २५६ जना रहेका छन्। विभागले छनोट भएका विद्यार्थीहरूलाई इमेल र फोनमार्फत जानकारी गराइसकेको बताएको छ।


