नयाँ वर्षको ‘स्टक’ स्वागत: नेप्सेमा ७८ अंकको छलाङ, कारोबार पनि १६ अर्ब पार!

नयाँ वर्षको ‘स्टक’ स्वागत: नेप्सेमा ७८ अंकको छलाङ, कारोबार पनि १६ अर्ब पार! तरुण खबर १ श्रावण २०८२, बिहीबार १५:०९
नयाँ वर्षको ‘स्टक’ स्वागत: नेप्सेमा ७८ अंकको छलाङ, कारोबार पनि १६ अर्ब पार!

काठमाडाैं, १ साउन । साताको अन्तिम कारोबार दिन र नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन बिहीबार नेपालको सेयर बजार नेप्सेमा उत्साहजनक वृद्धि देखिएको छ। सेयर बजार मापक नेप्से परिसूचक ७८.३१ अंकले बढेर २८७३.१० बिन्दुमा पुगेको छ, जुन २.८० प्रतिशतको उल्लेखनीय वृद्धि हो। यसअघि बुधबार पनि नेप्से ३४.६१ अंकले बढेको थियो।

कारोबार रकम र सूचकहरूमा हरियाली

नेप्सेसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। बिहीबार ३१० कम्पनीका ४ करोड ४० लाख ७६ हजार कित्ता सेयर १६ अर्ब १३ करोड १० लाख ६५ हजार रुपैयाँमा कारोबार भएका छन्। यो बुधबारको कारोबार रकमभन्दा करिब २ अर्बले बढी हो, जसमा ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँमा खरिदबिक्री भएका थिए।

आज सबै उप-सूचकमा हरियाली छाएको छ, जसले समग्र बजारमा सकारात्मक माहोल रहेको देखाउँछ। अन्य समूह सर्वाधिक ५.१९ प्रतिशतले बढेको छ। यसैगरी, लगानी समूह ३.२० प्रतिशत, जलविद्युत समूह ३.१६ प्रतिशत, जीवन बीमा समूह ३.१० प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ३.०५ प्रतिशतले बढेका छन्।