समृद्धिको आधार: ऊर्जामा सामूहिक अधिकार र द्रुत कार्यसम्पादनमा जोड

समृद्धिको आधार: ऊर्जामा सामूहिक अधिकार र द्रुत कार्यसम्पादनमा जोड तरुण खबर १ श्रावण २०८२, बिहीबार १५:५६
समृद्धिको आधार: ऊर्जामा सामूहिक अधिकार र द्रुत कार्यसम्पादनमा जोड

काठमाडाैं, १ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले ऊर्जालाई मुलुकको समृद्धिको आधारस्तम्भका रूपमा परिभाषित गर्दै अब केवल भाषणले नभई द्रुत र प्रभावकारी कार्यसम्पादनमार्फत परिणाम देखाउने समय आएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभागको ३२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासका लागि व्यक्तिगतभन्दा सामूहिक अधिकार र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।

मन्त्री खड्काले निर्माण कार्यलाई तीव्रता दिन मन्त्रालय निरन्तर लागिरहेको जानकारी दिँदै, यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भए पनि अघि बढ्नुपर्नेमा जोड दिए। “हामीले भाषण धेरै ग¥यौं, अब साँचिकै काम गर्ने समय हो,” उनले भने, “ऊर्जा अब केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो।”

सरकारको लक्ष्य देशभरका हरेक चुल्होमा बिजुली पुर्‍याउनु रहेको उल्लेख गर्दै मन्त्री खड्काले वर्तमान सरकारको प्राथमिकता ‘देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने’ रहेको बताए। कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिसकेकाले यस युगलाई चलाउन ऊर्जा अनिवार्य रहेको बताउँदै उनले उत्पादनमा मात्र नभई प्रसारण र वितरणतर्फ पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनहरू हटाउन नीति–नियमको पुनरावलोकन गरिने स्पष्ट संकेत मन्त्री खड्काले दिए। उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै ऊर्जा क्षेत्रमा स्थायित्व र प्रभावकारिता आउने दाबी गरे।

यस वर्ष ४३२ मेगावाट जलविद्युत् र ३५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर योगदान पुर्‍याउने निजी तथा सरकारी पक्षप्रति मन्त्री खड्काले धन्यवाद ज्ञापन गरे। उनले मुलुकको समृद्धि सरकार वा मन्त्रीको मात्र नभई साझा प्रयासको प्रतिफल भएको भन्दै सबै तह र तप्काले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।

विद्युत विकास विभागका महानिर्देशक नविन राज सिंहको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा ऊर्जा मन्त्रालयका सचिवहरू सुरेश आचार्य एवं सरिता दवाडी, ऊर्जा तथा जलस्रोत आयोगको सचिवालयका प्रमुख सचिव दिनानाथ मिश्र, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, स्वतन्त्र विद्युत उत्पादकहरुको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाङ्गी लगायत सल्लाहकार, विभागीय प्रमुखहरू, विभिन्न विद्युत कम्पनीका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रज तथा विशेषज्ञहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा विद्युत विकास विभागले प्रकाशन गरेको ‘विद्युत प्रवद्र्धन स्मारिका–२०८२’ लाई प्रमुख अतिथि ऊर्जामन्त्री खड्काले विमोचन गरे। कार्यक्रममा सेवानिवृत्त कर्मचारीहरू मधु प्रसाद भेटवाल (सचिव पदबाट अवकाश), अरुण कुमार झा (उपमहानिर्देशकबाट अवकाश) र सरिता प्रधानलाई सम्मान गरिएको थियो। साथै, आर्थिक वर्ष २०८१/०८२ मा निर्माण सम्पन्न गरेका २० वटा विद्युत आयोजनाका प्रवद्र्धकहरूलाई पनि सम्मान गरियो।