मन्त्री अधिकारीद्वारा अडियो क्लिप प्रकरण अस्वीकार: ‘चरित्र हत्याको प्रयास’

मन्त्री अधिकारीद्वारा अडियो क्लिप प्रकरण अस्वीकार: ‘चरित्र हत्याको प्रयास’ तरुण खबर १ श्रावण २०८२, बिहीबार १६:३४
मन्त्री अधिकारीद्वारा अडियो क्लिप प्रकरण अस्वीकार: ‘चरित्र हत्याको प्रयास’

काठमाडाैं, १ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूमाथि लागेको ३२ लाख घुस लिएको आरोपसम्बन्धी हालै सार्वजनिक भएको अडियो क्लिपको खण्डन गरेका छन्। आफ्नो मन्त्रालयको एक वर्षको उपलब्धिबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले अडियोमा प्रयोग भएको भाषा र आवाज आफूसँग सम्बन्धित नरहेको दाबी गरेका छन्। उनले यो आफ्नो ‘चरित्र हत्या’ गर्ने स्पष्ट प्रयास भएको बताएका छन्।

मन्त्री अधिकारीका अनुसार, केही व्यक्तिहरूले आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि एक भूमि राजस्व अधिकारीको सरुवाका लागि आफूलाई दबाब दिएका थिए। आफूले उक्त प्रस्ताव अस्वीकार गरेपछि यो अडियो सार्वजनिक भएको उनको भनाइ छ। उनले अडियो क्लिपको आफू वा आफ्नो मन्त्रालयसँग कुनै सम्बन्ध नरहेको भन्दै प्रमाण पेश गर्न चुनौती दिएका छन्। “मलाई फसाउन खोज्नेहरूले मेरो कुरा नमानेपछि मेरो चरित्रमाथि आक्रमण गरिरहेका छन्,” उनले थपे।

यो विवाद संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस लिएको आरोपपछि राजीनामा दिएको भोलिपल्टै सार्वजनिक भएको हो। ११ मिनेट ४६ सेकेन्ड लामो उक्त अडियोमा मन्त्री बलराम अधिकारीले आफ्नो सरकारी निवासमा रातो वा हरियो झोलामा ३२ लाख रुपैयाँ घुस लिएको आरोप लगाइएको छ। पोखराको १३५ रोपनी जग्गा एक निजी व्यक्तिको नाममा दर्ता गराउनका लागि यो लेनदेन मन्त्रीका छोरा मनोज अधिकारीमार्फत भएको बताइएको छ। यद्यपि, उक्त अडियो रेकर्डिङको प्रामाणिकता भने स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।