काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १६ हजार बढी विद्यार्थी भिड्ने

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १६ हजार बढी विद्यार्थी भिड्ने तरुण खबर २ श्रावण २०८२, शुक्रबार १२:१५
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १६ हजार बढी विद्यार्थी भिड्ने

काठमाडाैं, २ साउन । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आयोजना गर्ने प्रवेश परीक्षामा यसपटक देशभरका १६ हजार १३७ विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन्। महानगरपालिकाले शिक्षामा सबैको पहुँच पुर्याउने र आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्राप्त १७ हजार २२९ आवेदनमध्ये १ हजार ९२ वटा आवेदनहरू भने विभिन्न कारणले अस्वीकृत भएका छन्।

महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी लक्ष्मी पौडेलका अनुसार, आवेदन अस्वीकृत हुनुका मुख्य कारणहरूमा नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र, सार्वजनिक विद्यालयमा अध्ययन गरेको वा संस्थागत विद्यालयमा छात्रवृत्ति पाएको प्रमाण, वा काठमाडौँ महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेस नगर्नु रहेका छन्। छनोटमा परेका विद्यार्थीहरूमध्ये विज्ञान संकायमा ११ हजार ५९०, व्यवस्थापन संकायमा ४ हजार १६४, मानविकी संकायमा ३२, शिक्षा संकायमा ९५ र कानुन संकायमा २५६ जना रहेका छन्। महानगरपालिकाले छनोटमा परेका सबै विद्यार्थीहरूलाई ईमेल र फोनमार्फत जानकारी गराइसकेको छ।

प्रवेश परीक्षा आगामी साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्। जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न तथा सामान्य ज्ञानबाट १० प्रश्न समावेश हुनेछन्। परीक्षामा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ। परीक्षाको नतिजा प्रकाशनपश्चात् योग्यताक्रमका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास महानगरपालिकाले लिएको छ।