तरुण खबर
३ श्रावण २०८२, शनिबार १९:४८
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई आर्थिक अनुदान वितरण गरेको छ । बैङ्कको काठमाडौंस्थित कार्यालयमा आज आयोजना गरिएको कार्यक्रममा ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपायहरू कार्यान्वयन गरेपछि पहिलो चरणमा १० वटा उद्योगलाई करिब रु दुई करोड ९० लाख बराबरको अनुदान प्रदान गरिएको थियो ।
यस्ता उपायहरूबाट दीर्घकालीन रूपमा वार्षिक झन्डै ३६ हजार ७८८ मेगावाट घण्टा ऊर्जा बचत हुने अपेक्षा गरिएको छ, जसले नेपालको जलवायु प्रतिबद्धता तथा दिगो औद्योगिक विकासमा पनि योगदान पुर्याउनेछ । यो अनुदान कार्यक्रम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुन: प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सञ्चालित छ ।
परियोजना युरोपेली सङ्घ र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय बिएमजेड को सह–आर्थिक सहयोगमा सञ्चालन भइरहेको हो । यस कार्यक्रमले उच्च ऊर्जा बचत सम्भावना भएका उद्योगहरूलाई ऊर्जा दक्ष अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।


