तरुण खबर
४ श्रावण २०८२, आईतवार १५:०५
काठमाडाैं, ४ साउन । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा भर्ना लिनका लागि सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म काठमाडौंका विभिन्न ५४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।
शिक्षा विभागका अनुसार, देशभरका ७७ वटै जिल्लाबाट १७,२२९ विद्यार्थीले आवेदन दिएका थिए, जसमध्ये १६,१३७ विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्। परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित रही, जसमा गणित, विज्ञान, अङ्ग्रेजी (३०/३० अंक) र सामान्य ज्ञान (१० अंक) समेटिएको थियो। परीक्षा कुल १०० अंकको बहुवैकल्पिक प्रश्नमा आधारित थियो। यसमा नकारात्मक अङ्कनको व्यवस्था नराखिएको र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक अनिवार्य गरिएको थियो।
नतिजा OMR (Optical Mark Recognition) प्रणालीमार्फत जाँच गरिएको थियो, जसमा मेसिनले उत्तरपुस्तिका स्वचालित रूपमा स्क्यान गरी मूल्याङ्कन गर्छ। यस प्रविधिबाट नतिजा पारदर्शी, निष्पक्ष र समयमै सार्वजनिक गर्न सकिएको महानगरको दाबी छ।
विद्यार्थीहरूले आफ्नो नतिजा प्राप्त पासपोर्ट नम्बर र व्यक्तिगत विवरण प्रयोग गरी काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्।
काठमाडौं महानगरपालिकाको यो छात्रवृत्ति कार्यक्रमले शैक्षिक अवसरमा पहुँच अभाव झेलिरहेका मेधावी विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने र निजी विद्यालयमा निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।


