देव कुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त, तीन दशकको अनुभव बोकेर पदभार ग्रहण

देव कुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त, तीन दशकको अनुभव बोकेर पदभार ग्रहण तरुण खबर ४ श्रावण २०८२, आईतवार १५:१०
देव कुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त, तीन दशकको अनुभव बोकेर पदभार ग्रहण

काठमाडाैं, ४ साउन । नेपालको पुरानो तथा अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBB) को सञ्चालक समितिको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन्। साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा ढकाललाई नयाँ अध्यक्ष चयन गरेको हो।

नियुक्तिपछि ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिई औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

ढकालसँग नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय विभिन्न महत्वपूर्ण जिम्मेवारीमा काम गरेको अनुभव छ। उनी हालसम्म राष्ट्र बैंकको निर्देशकको भूमिकामा कार्यरत थिए। बैंकिङ नीति, वित्तीय नियमन, र संस्थागत विकासमा विशिष्ट योगदान दिएका ढकाल गहिरो ज्ञान र अनुभवका कारण व्यापक रूपमा चिनिन्छन्।

ढकाललाई बधाई तथा स्वागत गर्न राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, कम्पनी सचिव प्रमोद अधिकारी लगायत बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरू उपस्थित थिए।

वि.सं. २०२२ मा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ३०९ शाखा कार्यालयमार्फत देशभर ४७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ। बैंकले हालका दिनमा प्रविधिनिर्भर सेवा विस्तार, वित्तीय समावेशीकरण, तथा दिगो बैंकिङ अभ्यासमा विशेष ध्यान दिँदै आएको छ।