रसुवा बाढीको प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख, ६३ वटा दाबी दर्ता

रसुवा बाढीको प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख,     ६३ वटा दाबी दर्ता तरुण खबर ५ श्रावण २०८२, सोमबार ११:५२
रसुवा बाढीको प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख,     ६३ वटा दाबी दर्ता

काठमाडाैं, ५ साउन । रसुवाको ल्हेन्देखोलमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको प्रारम्भिक बीमा दाबी रकम २८ करोड ९२ लाख ६० हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, हालसम्म विभिन्न सात बीमा कम्पनीमार्फत कूल ६३ वटा बीमा दाबी आवेदन दर्ता भएका छन्।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल, निर्माणाधीन सुक्खा बन्दरगाह, भन्सार कार्यालय र नजिकै पार्क गरिएका सवारीसाधनहरू बगाएको थियो। यसका साथै, रसुवागढी जलविद्युत आयोजना र अन्य भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ।

प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार, शिखर इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी १० वटा दाबी परेका छन्, जसको कुल रकम १६ करोड ११ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, नेको इन्स्योरेन्समा ५ करोड २० लाख रुपैयाँ बराबरका तीन दाबी, र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरका सात दाबी दर्ता भएका छन्।

अन्य कम्पनीहरूमा पनि बाढीबाट भएको क्षतिको बीमा दाबी परेको छ। नेपाल इन्स्योरेन्स कम्पनीमा १ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरका १२ दाबी, सानिमा जीआईसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ बराबरका ६ दाबी, र आईजीआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ बराबरका नौ दाबी परेका छन्।

यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्समा ६८ लाख रुपैयाँ बराबरका तीन दाबी, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरका छ दाबी, र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ लाख रुपैयाँ बराबरका सात दाबी दर्ता भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।