तरुण खबर
५ श्रावण २०८२, सोमबार १२:१४
काठमाडाैं, ५ साउन । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवामा आंशिक अवरोध आएको जनाएको छ। विभागका सूचना अधिकारी शिवराज सेढाईंका अनुसार, व्यवस्थापन सूचना प्रणाली (MIS) को नियमित मर्मतसम्भार र क्षमता अभिवृद्धिका लागि प्राविधिक टोलीले काम गरिरहेकाले सेवाहरूमा आंशिक समस्या देखिएको हो।
गत आइतबारदेखि प्रभावित भएका सेवाहरूमा अनलाइन दर्ता, राष्ट्रिय परिचयपत्र वितरण, सूचना सच्याउने कार्य, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूको अनलाइन दर्ता तथा नवीकरण र MIS मा एकीकृत अन्य केही सेवाहरू रहेका छन्।
विभागले एक सार्वजनिक सूचना जारी गर्दै मर्मतसम्भारको काम सम्पन्न भएलगत्तै सबै सेवाहरू सुचारु हुने जानकारी गराएको छ। विभागले राष्ट्रिय परिचयपत्रका सेवाग्राहीहरूलाई अफलाइन माध्यमबाट पनि आफ्नो विवरण बुझाउन र कार्ड संकलन गर्न आग्रह गरेको छ।
प्रणालीको क्षमता अभिवृद्धिले भविष्यमा सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउने अपेक्षा गरिए पनि तत्कालका लागि सेवाग्राहीहरूले केही असुविधा भोग्नुपर्ने भएको छ।


