तरुण खबर
५ श्रावण २०८२, सोमबार १२:४२
काठमाडाैं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समृद्धि हासिल गर्न राज्यको सोचाइ र नीतिमा आमूल सुधार आवश्यक रहेको बताएका छन्।
उनले उक्त धारणा आज खुमलटारस्थित आफ्नो निवासमा नेपाल उद्योग परिसंघ (CNI) का हालै निर्वाचित पदाधिकारीहरूसँगको भेटघाटका क्रममा राखेका हुन्।
“राज्यको सोच परिवर्तन गरी निजी क्षेत्रलाई अनुकूल वातावरण सिर्जना गर्न सके मात्र समृद्धिको यात्रा अघि बढ्न सक्छ,” प्रचण्डले स्पष्ट पारे। उनले थपे, “राज्य अब नियमनकारी मात्र होइन, सहजीकरणकर्ता को भूमिकामा जानु आवश्यक छ।”
प्रचण्डले निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा चिनाउँदै नीतिगत स्पष्टता र समर्थन आवश्यक रहेको बताए। उद्योग, व्यापार र लगानी प्रवर्द्धनका लागि नीति सुधार र विश्वासिलो राज्य संयन्त्र को खाँचो औंल्याउँदै उनले निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाए।
भेटघाटका क्रममा परिसंघका पदाधिकारीहरूले पनि निजी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पुर्याउँदै आएको योगदानलाई स्मरण गराउँदै राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता, र लगानीमैत्री वातावरणका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले राज्य र निजी क्षेत्रको सहकार्यमार्फत मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुने भन्दै, उद्योग क्षेत्रको समस्या समाधानका लागि राज्यले अझ उत्तरदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।
प्रचण्ड र CNI पदाधिकारीबीच भएको यो छलफललाई नीति निर्माण तहमा निजी क्षेत्रको सुझाव समेट्ने प्रारम्भिक प्रयासका रूपमा लिइएको छ।


