एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन: ७० वर्षे उमेर हद र कार्यकालको सीमा हटाउने प्रस्तावमा चर्काचर्की

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन: ७० वर्षे उमेर हद र कार्यकालको सीमा हटाउने प्रस्तावमा चर्काचर्की तरुण खबर ५ श्रावण २०८२, सोमबार १३:२१
एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन: ७० वर्षे उमेर हद र कार्यकालको सीमा हटाउने प्रस्तावमा चर्काचर्की

काठमाडाैं, ५ साउन । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि गहन छलफल भइरहेको छ।

पार्टीको आगामी विधान महाधिवेशनलाई लक्षित गरी भइरहेको यस छलफलमा, विधान मस्यौदा कार्यदलका संयोजक तथा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि केन्द्रीय कमिटी सदस्यहरूलाई धारणा राख्नका लागि अधिकतम तीन मिनेटको समय तोकिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

यसअघि साउन ३ र ४ गते बसेको पार्टी पोलिटब्युरो बैठकबाट पारित भइसकेको यो संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र पदाधिकारीहरूका लागि दुई कार्यकालको सीमा हटाउने जस्ता विवादास्पद प्रावधानहरू समावेश गरिएका छन्। यस विषयमा केन्द्रीय कमिटी सदस्यहरूबीच चर्काचर्की बहस हुने अपेक्षा गरिएको छ। बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेकका करिब २३० केन्द्रीय कमिटी सदस्यहरूले छलफलमा भाग लिनेछन्।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज इन्टरनेशनल कन्भेन्सन सेन्टरमा हुने तय भएको छ। केन्द्रीय कमिटीको यो बैठकले विधान महाधिवेशनका लागि प्रस्तुत गरिने प्रस्तावलाई अन्तिम रूप दिनेछ।