बजारमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च: किसानले बल्ल पाए लागत मूल्य

बजारमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च: किसानले बल्ल पाए लागत मूल्य तरुण खबर ६ श्रावण २०८२, मंगलवार ११:२२
बजारमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च: किसानले बल्ल पाए लागत मूल्य

काठमाडाैं, ६ साउन ।नेपाली बजारमा अण्डाको उत्पादनमा कमी आएसँगै यसको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । उत्पादन घट्न थालेपछि लामो समयदेखि लागत मूल्यसमेत उठाउन नसकेका किसानहरूले अब भने राहत महसुस गर्न थालेका छन् ।

नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न पोल्ट्री फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी किसानका लागि समर्थन मूल्य निर्धारण गरेको छ । संघले आज (साउन ७ गते) देखि लागू हुने गरी ठूलो अण्डाको समर्थन मूल्य प्रतिक्रेट (३० वटा) ५२५ रुपैयाँ र मध्यम अण्डाको ४९५ रुपैयाँ कायम गरेको छ ।

यी दररेटहरू चितवनलाई आधार मानी तोकिएका हुन् । संघले चितवनबाट अन्य जिल्लामा अण्डा पठाउँदा त्यस क्षेत्रअनुसार बजार मूल्यमा केही फरक पर्न सक्ने जनाएको छ ।

बिक्री मूल्य र ऐतिहासिक उच्चता

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार उपभोक्ताका लागि बिक्री मूल्य पनि तोकिएको छ । ठूलो अण्डाको प्रतिपेटी (७ क्रेट) ३८५५ रुपैयाँ र मिडियम अण्डाको ३६४५ रुपैयाँ निर्धारण गरिएको छ ।

अध्यक्ष पोखरेलका अनुसार, यसअघि अघिल्लो वर्षको भदौमा ठूलो अण्डाको मूल्य अधिकतम ५१० रुपैयाँ प्रतिक्रेट पुगेको थियो । तर, अहिलेको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

लागत मूल्य र उत्पादनमा कमी

पोखरेलका अनुसार, हाल अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ । अहिलेको बजार मूल्यले किसानले बल्ल आफ्नो लागत बराबर आम्दानी गर्न थालेको उनले बताए ।