शर्माको सुझाव: गठबन्धन सरकारको सफलता साझा मतमा, प्रधानमन्त्रीले गम्भीरता देखाउनुपर्ने

शर्माको सुझाव: गठबन्धन सरकारको सफलता साझा मतमा, प्रधानमन्त्रीले गम्भीरता देखाउनुपर्ने तरुण खबर ६ श्रावण २०८२, मंगलवार ११:३२
शर्माको सुझाव: गठबन्धन सरकारको सफलता साझा मतमा, प्रधानमन्त्रीले गम्भीरता देखाउनुपर्ने

काठमाडाैं, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरूको बीचमा साझा मतबाट मात्र सम्भव हुने बताएका छन् । ४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फरक पृष्ठभूमिबाट आएका दलहरूबीच विचारको भिन्नता हुनु स्वाभाविक भएको र यसमा नेपाली कांग्रेस तथा नेकपा (एमाले) ले साझा मतको खोजी गर्नुपर्नेमा जोड दिए ।

शर्माले वर्तमान गठबन्धन सरकारको सफलताका लागि फरक मतहरूका बीचको साझा बुझाइ अपरिहार्य रहेको औंल्याए । “एउटै दलभित्र पनि दुई तीनवटा विचारहरू हुन्छन् भने दुईवटा पृष्ठभूमिबाट आएका नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बीचमा साझा मतको खोजी गर्नुछ,” उनले भने ।

प्रधानमन्त्रीलाई दुई मुद्दामा गम्भीर बन्न आग्रह

महामन्त्री शर्माले हाल दुई पार्टीबीच उत्पन्न भइरहेका समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । उनले दुईवटा मुख्य विषयमा प्रधानमन्त्रीले आग्रहलाई केन्द्रमा राखेर समाधान खोज्नुपर्ने औंल्याए ।

पहिलो, ‘कुलिङ पिरियड’ सम्बन्धी विवादमा जो दोषी छ, उसलाई कारबाही हुनुपर्ने शर्माको भनाइ छ । दोस्रो, भूमि विधेयकको सन्दर्भमा देखिएको हतार र यसमा प्रधानमन्त्रीको पनि समर्थन रहेको भन्ने बुझाइलाई पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।

“भूमि विधेयक पारित हुनुपर्छ तर पारित गर्ने भन्दै गर्दा हतारमा ल्याएर हुँदैन । गहन छलफल गरेर गर्नुपर्छ,” शर्माले थपे ।

बीपीको मेलमिलाप नीति र राजसंस्थाको अवस्था

कार्यक्रममा शर्माले बीपी कोइरालाको मेलमिलापको नीतिको स्मरण गर्दै तत्कालीन राजसंस्थाले त्यसलाई सही रूपमा नबुझेका कारण आजको अवस्था आएको टिप्पणी गरे । उनले बीपीले राजसंस्थाको प्रतिनिधिका रूपमा राजा र लोकतन्त्रको प्रतिनिधिका रूपमा आफूलाई राखेर “राजा र मेरो गर्धन जोडिएको छ” भन्दा दरबारले त्यसको अपव्याख्या नगरेको भए आज राजसंस्थाले नागार्जुनको डाँडामा बसेर लोकतान्त्रिक गणतन्त्र हेर्नुपर्ने अवस्था नआउने बताए ।

“बीपी कोइरालालाई जति छिटो र नजिकबाट बुझ्न सकिन्छ, त्यति छिटो देशको प्रगतिलाई सहज बनाउन सकिन्छ,” उनले भने, “बीपीलाई चिन्ने कुरामा नेपालका भिन्न भिन्न शक्तिहरूबाट कमजोरी भएको छ ।”