तरुण खबर
६ श्रावण २०८२, मंगलवार ११:५६
काठमाडाैं, ६ साउन । गत असार २४ गते (जुलाई ८) मा भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीस्थित मितेरी पुल बगाएपछि चीनको केरुङ क्षेत्रमा अलपत्र परेका करिब २०० नेपाली नागरिकलाई आज (बुधबार) नेपाल फर्काउने तयारी गरिएको छ । ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले मितेरी पुल ध्वस्त पारेपछि दुई देशबीचको सीधा सम्पर्क विच्छेद भएको थियो ।
तातोपानी नाका हुँदै स्वदेश फिर्ती
मितेरी पुल बगेपछि केरुङमा अलपत्र परेका नेपाली नागरिकहरूलाई अब तातोपानी (झाङ्मु) नाका हुँदै स्वदेश फिर्ता गरिने भएको छ । प्राप्त जानकारी अनुसार, कुल २०३ जना नेपाली नागरिकलाई चिनियाँ सरकारले अस्थायी आश्रयको व्यवस्था गरेको थियो । दुई देशबीचको कूटनीतिक समन्वय पश्चात् चिनियाँ अधिकारीहरूको सहयोगमा उनीहरूलाई तातोपानी नाकाबाट नेपाल ल्याइँदैछ ।
केरुङमा अलपत्र परेका केही व्यक्तिहरूसँग खाना र यातायातका लागि पर्याप्त पैसा नभएको बुझिएको छ । तिब्बत स्वायत्त क्षेत्रको परराष्ट्र मामिला कार्यालय र सम्बन्धित चिनियाँ अधिकारीहरूको सहयोगमा उनीहरूलाई तातोपानी सीमासम्म यातायातको व्यवस्था गरिएको छ । तातोपानी आइपुगेपछि, यी नेपाली नागरिकहरूलाई नेपालका सम्बन्धित अधिकारीहरूलाई जिम्मा लगाइनेछ । प्रभावित नेपालीहरूको सुरक्षित उद्धार र अस्थायी आश्रयका लागि सहयोग गरेकोमा चिनियाँ सरकारलाई नेपालले धन्यवाद ज्ञापन गरेको छ ।


