तरुण खबर
६ श्रावण २०८२, मंगलवार १२:५७
काठमाडाैं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीआईडीसीए) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलले आज (मंगलबार) शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएका चारवटा समझदारीपत्र र नेपाल–चीनबीच उच्चस्तरीय भ्रमणका क्रममा भएका विगतका विकास सहयोग सम्झौताहरूको कार्यान्वयनबारे छलफल भएको छ ।
प्रधानमन्त्रीद्वारा ‘एक चीन नीति’ मा जोड र चिनियाँ सहयोगको प्रशंसा
प्रधानमन्त्री ओलीले भेटका क्रममा नेपाल र चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धमा जोड दिँदै नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको पुनः दोहोर्याएका छन् । हालै भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त रसुवागढी नाकाको पुनर्निर्माणलाई चीनले प्राथमिकता दिएकोमा प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्दै नेपाली पक्षले पनि यस कार्यलाई उच्च प्राथमिकता दिएको बताए । उनले किमाथांकालगायत अन्य प्रमुख नाकाहरूको अबाधित सञ्चालन र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूको सुचारु कार्यान्वयनमा जोड दिए । यसले नेपाललाई भूपरिवेष्ठितबाट भू-सम्बद्ध देशमा रूपान्तरण गर्न मद्दत पुग्ने प्रधानमन्त्रीको विश्वास छ ।


