तरुण खबर
७ श्रावण २०८२, बुधबार १२:४५
काठमाडाैं, ७ साउन । नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा जडीबुटी र कृषिजन्य उत्पादनको निर्यातमा उत्साहजनक वृद्धि हासिल गरेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वार्षिक तथ्याङ्कले नेपालबाट २३ करोड रुपैयाँभन्दा बढीको यार्सागुम्बा र १ अर्ब रुपैयाँभन्दा बढीको अम्रिसो निर्यात भएको देखाएको छ।
गत आर्थिक वर्षमा नेपालले कुल ५४८ केजी यार्सागुम्बा विभिन्न १० वटा देशमा निर्यात गरेको छ, जसको कुल मूल्य २३ करोड ७५ लाख ३० हजार रुपैयाँ रहेको छ। यार्सागुम्बा निर्यातमा हङकङ सबैभन्दा ठूलो बजारका रूपमा उदाएको छ, जहाँ १२ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ। चीनमा ३ करोड ८४ लाख ३९ हजार रुपैयाँ बराबरको निर्यात हुँदा जापानमा ४ लाख ५ हजार, मलेसियामा ६३ लाख ३४ हजार, रुसमा २ लाख ९५ हजार, सिंगापुरमा १ करोड ८८ लाख ४१ हजार, बेलायतमा ५९ लाख ३१ हजार, र अमेरिकामा १ करोड ५१ लाख ५ हजार रुपैयाँको यार्सागुम्बा पठाइएको छ। यद्यपि, थाइल्याण्डमा भने जम्मा ६ हजार रुपैयाँको मात्रै यार्सागुम्बा निर्यात भएको तथ्याङ्कले देखाएको छ।


