तरुण खबर
८ श्रावण २०८२, बिहीबार ११:३३
काठमाडाैं, ८ साउन । नागरिक उड्डयन प्राधिकरणले देशभरका क्षेत्रीय तथा सुदूरवर्ती विमानस्थलहरूको पूर्वाधार विकास तथा स्तरोन्नतिको लागि ४९ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बुधबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेट विवरण अनुसार, नयाँ टर्मिनल भवन, टावर निर्माण, धावनमार्ग विस्तार, जग्गा अधिग्रहण, चट्याङ न्यूनीकरण र आयोजना प्रस्ताव तयारजस्ता कार्यहरूमा उक्त रकम खर्च गरिनेछ।
प्राधिकरणले महेन्द्रनगर, भोजपुर, दिपायल, डोटी, रामेछाप, गुल्मी (रेसुङ्गा), अछाम (साँफेबगर), कमलाबजार, सुकुटे, कोहलपुर, गड्डाचौकी, ताप्लेजुङ (सुकिएटार) र दार्चुला विमानस्थलमा टर्मिनल टावर निर्माणदेखि सुदृढीकरण तथा जग्गा अधिग्रहणसम्मका कार्यका लागि छुट्टाछुट्टै रकम विनियोजन गरेको छ।
यसैबीच, सिमिकोट विमानस्थलको धावनमार्ग विस्तारका लागि ७ करोड १४ लाख रुपैयाँ छुट्याइएको छ भने सुर्खेत विमानस्थलको जग्गा अधिग्रहणका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
विशेष रूपमा गोठगाउँ विमानस्थललाई राजधानी काठमाडौंको सहायक विमानस्थलको रूपमा विकास गर्नका लागि ९ करोड रुपैयाँ छुट्याइएको छ, जुन दीर्घकालीन रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरणमा प्रभावकारी मानिएको छ।
भैरहवा, विराटनगर, नेपालगञ्ज, पोखरा र जनकपुर विमानस्थलमा चट्याङ्को जोखिम न्यूनीकरणका लागि विद्युतीय सञ्जाल सुरक्षा योजना प्रस्ताव बनाउन मात्र ३ करोड रुपैयाँ छुट्याइएको छ।
प्राधिकरणले सार्वजनिक गरेको कुल ३१ अर्ब ४० करोड रुपैयाँको बजेटमा पूँजीगत खर्चतर्फ १२ अर्ब ३९ करोड ७० लाख, कार्यसञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख, र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा धेरै ४ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ, पोखरा विमानस्थलका लागि ५१ करोड र बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक कार्यका लागि २३ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ।


