वीरगञ्ज भन्सारबाट ६२५ अर्बको आयात, १०१ अर्बको निर्यात, सोयाबिनमै दोहोरो व्यापार

वीरगञ्ज भन्सारबाट ६२५ अर्बको आयात, १०१ अर्बको निर्यात, सोयाबिनमै दोहोरो व्यापार तरुण खबर ८ श्रावण २०८२, बिहीबार ११:३८
वीरगञ्ज भन्सारबाट ६२५ अर्बको आयात, १०१ अर्बको निर्यात, सोयाबिनमै दोहोरो व्यापार

काठमाडाैं, ८ साउन । आर्थिक वर्ष २०८१/८२ मा वीरगञ्ज भन्सार कार्यालयबाट ६२५ अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो रकम ८२ अर्ब ३० करोड रुपैयाँले बढी हो, जसअनुसार आयातमा १५.१४ प्रतिशतको वृद्धिदर देखिएको छ।

आयातमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ। कार्यालयका अनुसार १०१ अर्ब ८० करोड रुपैयाँ बराबरको पेट्रोलियम सामग्री आयात गरिएको छ। त्यसपछि कच्चा सोयाबिन तेल ५७ अर्ब ६० करोड रुपैयाँको आयात भइसकेको छ। त्यसैगरी, मेशिन तथा स्पेयर पार्ट्समा ३६ अर्ब ६३ करोड र फलाम तथा फलामजन्य वस्तुहरूमा ३४ अर्ब ४१ करोड रुपैयाँको आयात भएको छ।

भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यस वर्ष निर्यातमा पनि ऐतिहासिक वृद्धिको अभिलेख कायम भएको छ। उनका अनुसार, यो नाकाबाट १०१ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७० अर्ब ७० करोड रुपैयाँले बढी हो। यो २ सय २७ दशमलव ०९ प्रतिशतको उछाल हो, जसलाई लामिछानेले ‘असाधारण प्रगति’का रूपमा व्याख्या गरे।

सबैभन्दा बढी निर्यात भएको वस्तु परिष्कृत (refined) सोयाबिन तेल हो। एक वर्षमा २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर सोयाबिन तेल निर्यात गरिएको छ, जसको मूल्य ६१ अर्ब ४५ करोड रुपैयाँ बराबर छ। सोयाबिन तेलले आयात र निर्यात दुवै क्षेत्रमा आफ्नो उल्लेखनीय उपस्थिति जनाउँदै व्यापार सन्तुलनमा रोचक चित्र प्रस्तुत गरेको छ।