समस्याग्रस्त सहकारीका ऋणीलाई बागमती सरकारको अन्तिम चेतावनी: भदौ मसान्तसम्म बक्यौता नतिरे कारबाही

समस्याग्रस्त सहकारीका ऋणीलाई बागमती सरकारको अन्तिम चेतावनी: भदौ मसान्तसम्म बक्यौता नतिरे कारबाही तरुण खबर ९ श्रावण २०८२, शुक्रबार ११:२८
समस्याग्रस्त सहकारीका ऋणीलाई बागमती सरकारको अन्तिम चेतावनी: भदौ मसान्तसम्म बक्यौता नतिरे कारबाही

काठमाडाैं, ९ साउन । बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँचवटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूलाई भदौ मसान्तसम्ममा बक्यौता रकम तिर्न अन्तिम ताकेता दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले सार्वजनिक सूचना जारी गर्दै यो चेतावनी दिएको हो।

सूचनामार्फत ऋण तिर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गर्ने ऋणीहरूप्रति कडा सन्देश दिँदै समितिले तोकिएको म्यादभित्र नआए कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।

ताकेतामा परेका संस्थाहरूमा सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्था रहेका छन्। यी संस्थाहरू क्रमशः २०८० भदौ २१, २०८१ कात्तिक ११ र २०८१ पुस २८ मा समस्याग्रस्त सूचीमा सूचीकृत भएका थिए।

समितिका अनुसार आगामी भदौ ३१ भित्र कुनै पनि ऋणीले आफ्नो बाँकी साँवा वा ब्याज रकम बुझाउन अस्वीकार गरेमा, कानुन बमोजिम ब्याजसहित हर्जाना रकम समेत संकलन गरिनेछ। साथै, अचल सम्पत्ति कब्जा गर्नेदेखि कानुनी मुद्दा दायर गर्नेसम्मका प्रक्रिया अगाडि बढाइने जनाइएको छ। यसअघि समितिले फोन, व्यक्तिगत सम्पर्क र अन्य माध्यमबाट पनि ऋणीहरूलाई ऋण तिर्न आग्रह गरिसकेको थियो।