तरुण खबर
९ श्रावण २०८२, शुक्रबार ११:५९
काठमाडाैं, ९ साउन । टोखाबाट करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद प्रकरणमा मालिक ठानिएका सिन्धुपाल्चोकका नारायण पौडेल ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले असार ३२ गते उनी अदालतमा उपस्थित भएपछि न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासमार्फत धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
गत चैत ४ गते टोखाबाट फल्सबटम बनाइएको ट्रकमार्फत १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार डलरसहित चालक कुशाङ लामा पक्राउ परेका थिए। राजश्व अनुसन्धान विभागले कुशाङ लामालाई भरिया मात्र भएको निष्कर्ष निकाल्दै पौडेललाई मुख्य मालिक ठहर गरेको थियो।
प्रारम्भमा फरार रहेका पौडेलविरुद्ध मुद्दा दायर भए पनि पछि उनी अदालतमा उपस्थित भएर धरौटीमा रिहा भएका हुन्। यता, चालक कुशाङ लामा भने अझै पुर्पक्षका लागि थुनामै छन्।


