तरुण खबर
९ श्रावण २०८२, शुक्रबार १२:१९
काठमाडाैं, ९ साउन । थाइल्यान्ड र कम्बोडियाबीचको सीमा द्वन्द्व निरन्तर बढ्दै गएको छ। शुक्रबार पनि दुई देशको सीमामा गोलीबारी भएको दुवै देशका अधिकारीहरूले पुष्टि गरेका छन्। यस द्वन्द्वमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। यसैगरी, एक लाखभन्दा धेरै मानिस विस्थापित भएको खबर आइरहेको छ। दुवैतर्फबाट आक्रमणका लागि गोलीबारी र क्षेप्यास्त्रको प्रयोग भइरहेको छ।
शुक्रबार दुवै देशका सेनाले सीमामा थप सैनिक पठाएका छन्। बिहीबार कम्बोडियाले थाइल्यान्डको सिमानामा अवस्थित गाउँहरूमा आक्रमण गरेको थियो। यसको प्रतिक्रियामा थाई सेनाले एफ–१६ लडाकु विमानहरूबाट कम्बोडियाली सैन्य अड्डाहरूमा आक्रमण गर्यो। आक्रमणपछि हिंसा प्रभावित क्षेत्रहरूबाट आम मानिसहरू बसाइँ सर्न थालेका छन्। महिनौँदेखि दुई देशको सीमामा ८०० किलोमिटरको विवादित खण्डको विषयमा थाइल्यान्ड र कम्बोडियाबीच बहस चलिरहेको थियो।
के हो विवाद?
थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद एक शताब्दीभन्दा पुरानो हो। सन् १९०७ मा कम्बोडिया फ्रान्सेली साम्राज्यको अधीनमा हुँदा सियाम (थाइल्यान्ड) र कम्बोडियाबीचको सीमा विवाद तय गरिएको थियो। तर, पछि यसैबाट ८१७ किलोमिटर लामो सीमामा विवाद सुरु भयो।
दुई देशबीचको यो विवाद विशेष गरी केही ऐतिहासिक मन्दिरहरू, विशेष गरी ११ औं शताब्दीको प्रेह विहार मन्दिरलाई लिएर गहिरो हुँदै गयो। दुवै देशले १९६२ मा सीमा विवाद र मन्दिरहरूमाथिको अधिकारको मुद्दालाई अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) मा लगेका थिए। आईसीजेले कम्बोडियाको पक्षमा फैसला सुनाएपछि थाइल्यान्डले यस मन्दिरमाथिको आफ्नो अधिकार त्यागेको थियो।


