तरुण खबर
११ श्रावण २०८२, आईतवार ०१:४४
नेपालगन्जमा २२ वर्षीया निर्मला थापाको हत्या अभियोगमा ३५ वर्षीय प्रकाश सुनार पक्राउ परेका छन्। प्रकाशले नेपालगन्ज १२ बेलासपुरस्थित डेरामा सलले घाँटी कसी निर्मलाको हत्या गरेका थिए। निर्मला दैलेखकी स्थायी बासिन्दा तथा सुनाखरी रेस्टुरेन्टमा वेटर थिइन् भने प्रकाश स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत थिए।
हत्या गरेपछि उनले निर्मलाकी बहिनीलाई फोनमार्फत घटना जानकारी दिएका थिए र फरार हुने प्रयास गरेका थिए। तर प्रहरीले उनलाई नेपालगन्जको धम्बोझीबाट पक्राउ गरेको हो। मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ। विवाहित प्रकाश तीन वर्षदेखि निर्मलासँग लिभिङ टुगेदरमा थिए। प्रहरीसमक्ष उनले निर्मलालाई ‘कान्छी श्रीमती’ को रूपमा उल्लेख गरेका छन्।


