तरुण खबर
११ श्रावण २०८२, आईतवार ११:३८
काठमाडाैं, ११ साउन । चीन उत्तरी नाकामा रहेको मितेरी पुलको पुनर्निर्माण कार्य आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ। गत जुलाई ८ मा ल्हेन्दे खोलामा आएको अभूतपूर्व बाढीले १० मिटर चौडा र १०० मिटर लामो उक्त पुलमा ठूलो क्षति पुर्याएको थियो।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्जुन पौडेलले चिनियाँ सरकारले पुनर्निर्माणको काम सुरु गरेको जानकारी दिएका छन्। शनिबार सीडीओ पौडेलको नेतृत्वमा गएको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले मितेरी पुल क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।
निरीक्षणका क्रममा दुवै देशका अधिकारीहरूले निर्माणस्थलमै भर्चुअल बैठक गरी बाढी उद्धार र राहत कार्य, पुनर्निर्माणका प्राथमिकताका साथै स्थायी संरचना निर्माणका योजनाबारे विस्तृत छलफल गरेका थिए।
सीडीओ पौडेलका अनुसार, नेपाल र चीनबीचको सीमापार आवागमन र व्यापार बन्द भएपछि चिनियाँ पक्षले पहिलो चरणमा बेलीब्रिज निर्माण सुरु गरेको छ। यो अस्थायी पुलका लागि जमिन सम्याउने काम सुरु भइसकेको छ।
रसुवा जिल्ला प्रशासन कार्यालयले यस अस्थायी पुलको द्रुत निर्माणले स्थानीय बासिन्दा, व्यापारी र सीमापार सेवा प्रयोगकर्ताका लागि अत्यावश्यक आवागमनलाई तत्काल सहज बनाउने अपेक्षा गरिएको जनाएको छ। दुवै राष्ट्रका लागि स्थायी पुलको पुनर्निर्माण पनि उच्च प्राथमिकतामा रहेको छ।
चिनियाँ पक्षले बेलिब्रिज मध्य सेप्टेम्बरसम्ममा सम्पन्न हुने आश्वासन दिएको छ। यसैबीच, रसुवागढीमा एकीकृत भन्सार भवनको निर्माण भने अझै रोकिएको छ।


