थाइल्याण्ड–कम्बोडिया सीमा झडपः नेपाली सुरक्षित, दूतावासलाई निगरानी गर्न निर्देशन

थाइल्याण्ड–कम्बोडिया सीमा झडपः नेपाली सुरक्षित, दूतावासलाई निगरानी गर्न निर्देशन तरुण खबर ११ श्रावण २०८२, आईतवार १२:५५
थाइल्याण्ड–कम्बोडिया सीमा झडपः नेपाली सुरक्षित, दूतावासलाई निगरानी गर्न निर्देशन

काठमाडाैं, ११ साउन । थाइल्याण्ड र कम्बोडियाको सीमा क्षेत्रमा जारी सैन्य झडपलाई नजिकबाट नियाल्न र त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले बैंककस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ। बुधबारदेखि जारी यस झडपमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कम्तीमा ३३ जनाको ज्यान गइसकेको छ।

द्वन्द्व बढ्दै गएपछि थाइल्याण्डका आठ सीमावर्ती जिल्लाहरूमा मार्शल ल (सैन्य कानुन) लागू गरिएको छ। यी झडपहरू प्रेह विहार (Preah Vihear) र प्रासात ता मुएन थोम (Prasat Ta Muen Thom) जस्ता शताब्दीऔं पुराना मन्दिरहरू नजिक भइरहेका छन्, जुन दुवै देशको लागि ऐतिहासिक तथा सांस्कृतिक महत्वका छन्।

थाइल्याण्डमा करिब ८० हजार नेपालीहरू बसोबास गर्छन् भने कम्बोडियामा करिब ३ हजार नेपाली रहेको अनुमान छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार, द्वन्द्वग्रस्त क्षेत्रमा कुनै पनि नेपाली नागरिकलाई कठिनाइ परेको रिपोर्ट छैन। अधिकारीहरूले प्रभावित सीमा क्षेत्रमा कुनै पनि नेपाली नरहेको र अन्य क्षेत्रमा रहेका नेपालीहरू सुरक्षित रहेको पुष्टि गरेका छन्।

परराष्ट्र मन्त्रालयले दूतावासलाई निरन्तर स्थिति अनुगमन गर्न र आवश्यक परेमा नेपाली नागरिकहरूलाई सहयोग पुर्‍याउनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।