रेबिज र सर्पदंशको औषधि अभाव टर्‍यो: देशभर आपूर्ति सुरु

रेबिज र सर्पदंशको औषधि अभाव टर्‍यो: देशभर आपूर्ति सुरु तरुण खबर १२ श्रावण २०८२, सोमबार १२:४१
रेबिज र सर्पदंशको औषधि अभाव टर्‍यो: देशभर आपूर्ति सुरु

काठमाडाैं, १२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशभर रेबिजविरुद्धको भ्याक्सिन र सर्पदंश उपचारमा प्रयोग हुने औषधि (एन्टिभेनम) को आपूर्ति सुरु गरेको छ । यसअघि यी औषधिहरूको अभाव भएको भन्ने समाचारहरू आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तत्काल आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले खरिद भइसकेका औषधिहरू प्रदेश सरकारका स्वास्थ्य संस्थाहरूमा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए । मन्त्री पौडेलले आपूर्तिलाई तीव्र पार्न र भविष्यमा यस्तो अभाव हुन नदिन आवश्यक सबै उपाय अपनाउन अधिकारीहरूलाई निर्देशन दिएका थिए, सोहीअनुरूप विभागले सबै प्रदेशमा दुवै प्रकारका औषधि पठाएको हो ।

प्रदेशगत आपूर्ति विवरण

विभागको तथ्यांकअनुसार, रेबिजविरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगेको छ ।

  • बागमती प्रदेशमा सबैभन्दा बढी १० हजार ८० भायल रेबिजविरुद्धको खोप र एक हजार भायल सर्पदंशविरुद्धको भेनम आपूर्ति भएको छ ।
  • सर्पदंशको समस्या बढी हुने मधेस प्रदेशमा भने सबैभन्दा बढी दुई हजार पाँच सय भायल भेनम र करिब पाँच हजार भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको छ ।
  • मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, अन्य प्रदेशहरूमा पनि मागका आधारमा भ्याक्सिन र भेनम आपूर्ति गरिएको छ ।

भविष्यका लागि तयारी

विभागले हाल आपूर्ति गरिएका औषधिहरूको अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी औषधि उपलब्ध गराउने गरी व्यवस्था मिलाएको जनाएको छ । यसले आगामी दिनमा रेबिज र सर्पदंशको औषधि अभावको समस्या पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ ।