तरुण खबर
१२ श्रावण २०८२, सोमबार १२:५३
काठमाडाैं, १२ साउन । राजधानीको कमलादीस्थित ७५ मिटर अग्लो स्काई वाक टावर अब दृश्यावलोकनका लागि मात्र सीमित नरहने भएको छ । वोन्डर्स नेपाल प्रालिले यो टावरलाई ‘एक्स्ट्रीम एड्भेन्चर जोन’ का रूपमा विस्तार गर्दै नयाँ साहसिक खेलहरू थप्ने भएको छ । यसका लागि कम्पनीले ७ करोड रुपैयाँको पूरक लगानी योजना अघि सारेको छ ।
हालै कम्पनीले नयाँ पूर्वाधार निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयमा पेस गरिसकेको छ ।
२० प्रकारका साहसिक खेल र राजधानीमा पहिलो अनुभव
योजनाअनुसार स्काई वाक टावरमा २० प्रकारका साहसिक खेल समावेश गरिनेछन् । यसमा बन्जी जम्प, स्काई साइकलिङ, जीपलाइन, ह्यामक राइड, एज वाक, स्काई चेयर, फ्रिफल जम्प, क्लाइम्बिङ, स्वीङ–३६० र रिभर्स बन्जी जस्ता रोमाञ्चक गतिविधिहरू रहनेछन् ।
विशेष आकर्षणहरूमा २०० मिटरको जीपलाइन, १५० मिटरको ह्यामक राइड, फूल ग्लास सेल्फी डेक, स्नो रुम र हाई रोप कोर्स पनि समावेश गरिनेछ ।
काठमाडौँमा पहिलो पटक अग्लो टावरबाट फ्रिफल जम्प र रिभर्स बन्जी सञ्चालनमा आउनेछन् । यस्ता खेलहरू हालसम्म पोखरा, कुश्मा र अन्य विदेशी गन्तव्यहरूमा मात्र उपलब्ध थिए ।
पर्यटन र अर्थतन्त्रमा योगदान
प्रतिवेदनअनुसार नयाँ संरचनाहरू सञ्चालनमा आएपछि दैनिक ५०० पर्यटकसम्म आकर्षित हुने अनुमान गरिएको छ । हालको औसत आगन्तुक संख्या २००–२५० रहेकोमा यो दोब्बरभन्दा बढी हो । यसले काठमाडौँको पर्यटन चक्रमा ठूलो चहलपहल ल्याउने अपेक्षा गरिएको छ ।
यो परियोजना १३ रोपनी क्षेत्रफलमा फैलिनेछ, जहाँ पार्किङ, क्यू लाइन, क्याफे, पर्यटक प्रतीक्षालयलगायतका आवश्यक पूर्वाधार पनि निर्माण गरिनेछ ।
कुल लगानी र वातावरणीय सावधानी
टावर निर्माणको प्रारम्भिक चरणमा ८२ करोड रुपैयाँ लगानी भइसकेकोमा अब थप लगानीसहित यो आयोजनाको कुल लागत ८९ करोड रुपैयाँ पुग्नेछ । यसलाई नेपालमै निजी क्षेत्रबाट गरिएको एक अग्रगामी सहरी मनोरञ्जन परियोजनाका रूपमा लिइएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनले परियोजनाबाट उत्पन्न हुन सक्ने असरहरू मुख्यतः अस्थायी प्रकृतिका हुने देखाएको छ । ध्वनि प्रदूषण, जमिनको कम्पन, ट्राफिक व्यवस्थापनजस्ता विषयहरूलाई न्यूनीकरण गर्न स्पष्ट कार्ययोजना तयार गरिएको छ । यो परियोजना वातावरण संरक्षण ऐन, २०७६ र नियमावली २०७७ अनुसार पूरक अध्ययन गरी अगाडि बढाइएको हो ।


