तरुण खबर
१२ श्रावण २०८२, सोमबार १३:०८
काठमाडाैं, १२ साउन । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्तिका लागि सिफारिस गरेको छ । सोमबार बिहान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको आयोगको बैठकले यो निर्णय गरेको हो । यसअघि रजिस्ट्रारको पदमा कार्यरत पौडेल अब मुख्य रजिस्ट्रारमा बढुवा भएका हुन् ।
निवर्तमान मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबार ५८ वर्षको उमेर हदका कारण सेवा निवृत्त भएपछि यो पद रिक्त भएको थियो । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पद निजामती सेवाको मुख्य सचिवसरह मानिन्छ ।
यसैगरी, न्याय सेवा आयोगले सर्वोच्च अदालतका सह-रजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रार पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
यी दुवै सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि उनिहरूको नियुक्ति प्रक्रिया पूरा हुनेछ ।


