सिन्धुलीको गोलन्जोरबाट हराएका हायु परिवारको मोबाइल मन्थलीमा ट्रयाक

सिन्धुलीको गोलन्जोरबाट हराएका हायु परिवारको मोबाइल मन्थलीमा ट्रयाक तरुण संवाददाता १२ श्रावण २०८२, सोमबार १५:४७
सिन्धुलीको गोलन्जोरबाट हराएका हायु परिवारको मोबाइल मन्थलीमा ट्रयाक

काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि अहिले त्यस क्षेत्रमा सनसनी मच्चिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का छेप्टाको एक परिवार कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएपछि अहिले गाउँले र प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ ।

सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको जानकारी दिएका छन् । केही दिनअघि मात्रै सामाजिक सुरक्षा भत्ता बुझेकी उर्मिला हायुको परिवार घर छाडेर अन्यत्र गएको प्रहरीले आशंका गरेको छ ।

‘बाढी, पहिरो वा अन्य कुनै कारणले होइन । तर, घर छाडेर अन्यत्र गएकोजस्तो देखिन्छ । हामी खोजिरहेका छौँ,’ सुवेदीले भने । एकान्तमा घर भएकाले सूचना ढिलो आइपुगेको र गाउँलेले पनि कुनै सुइँको नै नपाएको बताइन्छ ।

प्रहरीले उर्मिलाको परिवारका १६ जनामध्ये एकजनाको नम्बर रामेछापमा लोकेट गरेको छ । १८ जनाको परिवारमा दुईजना भने काठमाडौंमा रहेको खुलेको छ ।

गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार भान्साघर जलेको छ भने भाँडा छरिएका छन्। खोरमा पाँचवटा बाख्रा छन्। हायु परिवारका व्यक्ति गत शुक्रबारबाट सम्पर्कविहीन भएको अनुमान छ। तर, उनीहरु सम्पर्कविहीन भएको खबर सोमबार बिहान मात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।