तरुण खबर
१३ श्रावण २०८२, मंगलवार ११:१७
काठमाडाैं, १३ साउन । विगत आर्थिक वर्ष २०८१/८२ मा नेपालको सार्वजनिक ऋण २ खर्बभन्दा बढीले वृद्धि भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार, आर्थिक वर्षको सुरुमा २.४३८ खर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण वर्षको अन्त्यसम्ममा २.६६९ खर्ब रुपैयाँ पुगेको छ ।
यसरी एक वर्षको अवधिमा कुल २३१.०८ अर्ब रुपैयाँले सार्वजनिक ऋण बढेर कुल गार्हस्थ्य उत्पादन (GDP) को ४३.७१ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋण १.२६३ खर्ब रुपैयाँ (जीडीपीको २२.१४%) र बाह्य ऋण १.४०१ खर्ब रुपैयाँ (जीडीपीको २४.५६%) रहेको छ ।
सरकारले यस आर्थिक वर्षमा ५४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको भए पनि असार मसान्तसम्ममा ४५५.३९ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ । यसमा आन्तरिक ऋणतर्फ ३२९.९९ अर्ब रुपैयाँ र बाह्य ऋणतर्फ १२५.४० अर्ब रुपैयाँ परिचालन भएको छ । दुवै लक्ष्यभन्दा कम हो । आन्तरिक ऋणको लक्ष्य ३३० अर्ब रुपैयाँ र बाह्य ऋणको लक्ष्य २१७ अर्ब रुपैयाँ थियो ।
यसैबीच, सरकारले यस आर्थिक वर्षमा ३६२.५९ अर्ब रुपैयाँ ऋण भुक्तानी गरेको छ । यसका लागि ४०२.८५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।


