तरुण खबर
१३ श्रावण २०८२, मंगलवार १३:०९
पूर्वी नेपालको व्यापारिक केन्द्र विराटनगरमा अब आधुनिक पर्यटकीय पूर्वाधार थपिने भएको छ । मोरङको ब्रम्हापुरामा ‘द एक्सिस होटल’ नामक पाँचतारे सुविधासम्पन्न होटल निर्माणको तयारी भइरहेको छ । यो परियोजनाले पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा विस्तार र रोजगारी सिर्जनाको उद्देश्य राखेको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिको चरणमा
प्रस्तावित होटलको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा दर्ता भइसकेको छ । मन्त्रालयले उक्त प्रतिवेदनमा सर्वसाधारणको राय-सुझावका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै लिखित सुझाव पनि माग गरिसकेको छ । यसको निर्माण संघीय सरकार अन्तर्गत पर्ने हुँदा वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ अनुसार संघीय सरकारले प्रतिवेदनको मूल्याङ्कन गर्दैछ ।
होटलको संरचना र विशेषता
एक्सिस हस्पिटालिटी प्रालिको स्वामित्वमा बन्ने यो होटल ४ बिघा १३ कठ्ठा १९.९९ धुर (३१ हजार ८३१.३६ वर्गमिटर) क्षेत्रफलमा फैलिनेछ । २७ हजार ४८२.५७६ वर्गमिटर निर्माण क्षेत्रफल रहने होटलको संरचना चार वटा भवनमा विभाजित हुनेछ । जसमा एक चारतले, एक पाँचतले, एक भुइँतले र एक एकतले भवन समावेश हुनेछन् ।
होटलमा कुल २१५ कोठासहित ३५० शय्या, रेस्टुरेन्ट, स्विमिङ पुल, बार, मिटिङ हल, बेड्क्वेट हल, स्पा, साउना, जिम, विशेष पाहुना कक्ष, शौचालय तथा र्याम्प जस्ता सुविधाहरू रहनेछन् । होटलको छुट्टै आकर्षणका रूपमा आधुनिक क्यासिनो हल पनि निर्माण गरिनेछ, जुन १ हजार १८८ वर्गमिटर भुइँतल्ला र १ हजार ६१७ वर्गमिटर पहिलो तल्लामा फैलिनेछ ।
रोजगारी र अनुमानित लागत
यो होटल निर्माणमा दैनिक ७० जना र सञ्चालनपछिको चरणमा करिब २०० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको छ । कम्पनीले होटल निर्माणको लागत करिब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरेको छ । यो परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको हो ।
वातावरणीय पक्ष र प्रभाव
प्रस्तावित होटल क्षेत्र प्राकृतिक रूपमा समथर भूभागमा छ र नजिकै केसलिया खोला बहिरहेको छ । भूगर्भ, माटो परीक्षणदेखि हावाको गुणस्तर, जैविक विविधता र सामाजिक प्रभावसमेत विश्लेषण गरिएको प्रतिवेदनले यो क्षेत्र निर्माणका लागि उपयुक्त रहेको देखाएको छ । पर्यावरणीय मूल्याङ्कनमा सहभागी स्थानीय बासिन्दा तथा सरोकारवाला निकायहरूबाट प्राप्त सुझावलाई समेत प्रतिवेदनमा समावेश गरिएको छ ।
यो परियोजनाले पूर्वी नेपालमा पर्यटनको क्षेत्रमा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ । होटल निर्माणपछि स्थानीय स्तरमा रोजगारी, व्यावसायिक गतिविधि र राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । एक्सिस हस्पिटालिटीले वातावरणीय व्यवस्थापन योजना लागू गर्दै नियमित अनुगमन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।


