राष्ट्र बैंकका गभर्नर र कोरियाली राजदूतबीच भेट: आर्थिक सहकार्यमा जोड

राष्ट्र बैंकका गभर्नर र कोरियाली राजदूतबीच भेट: आर्थिक सहकार्यमा जोड तरुण खबर १३ श्रावण २०८२, मंगलवार १३:३०
राष्ट्र बैंकका गभर्नर र कोरियाली राजदूतबीच भेट: आर्थिक सहकार्यमा जोड

काठमाडाैं, १३ साउन । कोरियाली राजदूत महामहिम पार्क टायोङले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई भेट गरेका छन् । आज २०८२ साउन १३ गते (ई.सं. २०२५ जुलाई २९) मा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित शिष्टाचार भेटवार्तामा दुई पक्षबीच आपसी सम्बन्ध, आर्थिक सहकार्य तथा द्विपक्षीय हितका विषयमा गहन कुराकानी भएको हो ।

भेटवार्ताका क्रममा कोरिया र नेपालबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । साथै, नेपालको वित्तीय क्षेत्र, केन्द्रीय बैंकिङ प्रणाली, डिजिटल बैंकिङ प्रविधि तथा वित्तीय समावेशीकरणका विषयमा समेत सरोकार व्यक्त गरिएको जानकारी प्राप्त भएको छ ।

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तस्बिरमा दुवै अधिकारीबीच मैत्रीपूर्ण संवाद भइरहेको देखिन्छ । बैठकको क्रममा दक्षिण कोरियाली सहयोगमा भइरहेको परियोजनाका विषयमा पनि छलफल भएको अनुमान गरिएको छ ।

यस किसिमका उच्चस्तरीय भेटघाटहरूले दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।