तरुण खबर
१३ श्रावण २०८२, मंगलवार १५:०८
काठमाडाैं, १३ साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले साउन २१ गतेदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको यस भव्य प्रदर्शनीमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुनेछन् भने ३५ नयाँ सवारी मोडलहरू पहिलोपटक सार्वजनिक हुँदैछन् ।
चारपांग्रे र व्यावसायिक सवारीसाधन
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नाइमाले दिएको जानकारीअनुसार, एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारीसाधन सर्वाजनिक हुनेछन् । यसमा ट्रक, भ्यान, मिनीबस जस्ता मोडलहरू पनि समावेश हुनेछन् र धेरैजसो मोडल विद्युतीय प्रविधिमा आधारित हुनेछन् ।
चीनको अग्रणी ब्रान्ड जाइकोले आफ्ना दुई नयाँ मोडल – जाइको जे ५ ईभी र जेइको जे ७ – पहिलोपटक नेपाली बजारमा अनावरण गर्ने तयारी गरेको छ । विशेषगरी जे ५ ईभी मा ६०.९ किलोवाट आवरको ब्याट्री र १५५ किलोवाट (२०७ हर्सपावर) को मोटर रहेको छ, जसले ४०० देखि ४७० किलोमिटरको दाबी गरिएको दूरी तय गर्न सक्छ ।
चिनियाँ कम्पनी बिवाइडीले पनि आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘सिल लायन ७’ को पहिलोपटक सार्वजनिक प्रदर्शन यसै एक्स्पोबाट गर्नेछ । साथै, चिनियाँ चेरी ब्रान्डको आइकार भी २३ र अन्य एसयूभी मोडलहरू पनि यसै अवसरमा प्रस्तुत गरिनेछन् ।
महिन्द्रा कम्पनीले आफ्नो नयाँ ईभी एसयूभी लाइनअपका रूपमा बि‑६ र एक्सयुभी. ई ९ नामक विद्युतीय सवारीसाधनहरू सार्वजनिक गर्ने जानकारी दिएको छ । कियाले पनि आफ्नो नयाँ इलेक्ट्रिक मोडल ईभी‑५ यसै एक्स्पोमार्फत पहिलोपटक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मलेशियन ब्रान्ड प्रोटोनले आफ्ना नयाँ विद्युतीय मोडल ईमास ७ को प्राइम र प्रिमियम भेरियन्टहरू पहिलोपटक नेपाली बजारमा सार्वजनिक गर्नेछ ।
साना, मध्यम तथा ठूला व्यावसायिक प्रयोजनका सवारी साधनहरू पनि विशेष आकर्षणका रूपमा प्रस्तुत हुनेछन् । विद्युतीय तथा डिजेल–पेट्रोल इन्जिनमा आधारित ट्रक, भ्यान, मिनी बस लगायतका थुप्रै चिनियाँ ब्रान्डहरूले आफ्ना नयाँ मोडेलहरू पहिलोपटक नेपालमा सार्वजनिक गर्न लागेका छन् । यसपटकको एक्स्पोमा चेरी वान्डा, डोङफेङ, किङ लङ, सनलङ, फ्यारिजोन, कामा, क्यारी, स्काइवर्थ र केटन जस्ता चिनियाँ व्यावसायिक सवारी निर्माता कम्पनीहरूले भाग लिँदैछन् ।
दुईपांग्रे सवारीसाधनको प्रदर्शन
एक्स्पोमा दुईपांग्रे सवारीसाधन (२–ह्वीलर) को पनि भव्य प्रदर्शन हुँदैछ । विद्युतीय तथा पेट्रोल इन्जिनमा आधारित स्कूटर र बाइकहरू प्रस्तुत गरिने यो एक्स्पोमा २० भन्दा बढी ब्रान्डले आफ्ना मोडलहरू सार्वजनिक गर्ने तयारी गरेका छन् । यीमध्ये धेरै ब्रान्डका मोडलहरू पहिलोपटक नेपालमा सार्वजनिक हुन लागेका छन् ।
यस वर्षको एक्स्पोमा एम्पेयर, एथर इनर्जी, बजाज, होन्डा, केटीएम, रोयल एनफिल्ड, सुजुकी, टिभीएस, ट्रायम्फ, बेनेल्ली, सिएफमोटो, गोगोरो, महिन्द्रा टू ह्वीलर्स, एनआईयु, रिभोल्ट मोटर्स, सेगवे नाइनबट, अल्ट्राभायोलेट र याडेया लगायत दर्जनौँ ब्रान्डका स्कूटर तथा मोटरसाइकलहरू देख्न पाइनेछन् । विद्युतीय २–ह्वीलर सवारीप्रति बढ्दो आकर्षणका कारण धेरै ब्रान्डहरू यसपटक ईभी सेग्मेन्टमा केन्द्रित हुनेछन् ।
समग्रमा एक्स्पोको महत्व
नाइमाको आयोजना तथा मोटर कम्पनी डटकमको सहकार्यमा हुन लागेको यो एक्स्पो विद्युतीय सवारीप्रति बढ्दो आकर्षणको संकेतस्वरूप नयाँ प्रविधिसहितका अत्याधुनिक मोडलहरूको सार्वजनिक मञ्च बन्ने अपेक्षा गरिएको छ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको माग तीव्र रूपमा बढिरहेका बेला यस एक्स्पोले ईभी क्षेत्रका नयाँ सम्भावनाहरूको ढोका खोल्ने अपेक्षा गरिएको छ । नयाँ मोडलहरूका प्रि–बुकिङ घोषणा, अफर तथा राइड अनुभवको अवसरसमेत एक्स्पोमा प्रदान गरिनेछ ।


