लगानीको वातावरणबारे उद्योगी व्यवसायीमा मिश्रित धारणा: सकारात्मक्ता र चुनौती दुवै

लगानीको वातावरणबारे उद्योगी व्यवसायीमा मिश्रित धारणा: सकारात्मक्ता र चुनौती दुवै तरुण खबर १४ श्रावण २०८२, बुधबार १२:३२
लगानीको वातावरणबारे उद्योगी व्यवसायीमा मिश्रित धारणा: सकारात्मक्ता र चुनौती दुवै

काठमाडाैं, १४ साउन । विभिन्न व्यावसायिक संगठनका प्रतिनिधिहरूले देशको लगानीको वातावरण र औद्योगिक विकासका बारेमा मिश्रित धारणा व्यक्त गरेका छन्। नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले आ-आफ्ना अनुभव र सुझाव प्रस्तुत गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले सामाजिक सञ्जालमा नकारात्मक भाष्य फैलाएर लगानीकर्तालाई हतोत्साहित पार्ने काम भइरहेको गुनासो गरे। उनले यस्ता गलत भाष्यलाई सच्याउनुपर्नेमा जोड दिँदै नेपालका कानुन, बजेट र मौद्रिक नीति निजी क्षेत्रको पक्षमा रहेको र यसले थप लगानी भित्र्याउन मद्दत गर्ने तर्क गरे।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सूयोग श्रेष्ठ ले लगानी प्रवर्द्धनका लागि स्थानीय सरकारबाट पर्याप्त सहयोग नभएको गुनासो गरे। उनले अनुकूल वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय अर्थतन्त्र रेमिट्यान्समा मात्र निर्भर रहनु गलत भएको बताए।

यस्तै, कमर्सियल बैंक एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स कन्फेडेरेसन नेपालका अध्यक्ष उपेन्द्र पौडेल ले पर्यटन क्षेत्रलाई पर्याप्त पूर्वाधारको आवश्यकता रहेको बताए। बैंक तथा वित्तीय संस्थाहरूले विदेशबाट फर्किएर उद्यमशीलता र उद्योग सञ्चालन गर्न चाहनेहरूलाई ऋण उपलब्ध गराइरहेको र अब उनीहरूको क्षमता विकासमा ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ थियो।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल ले सरकारले ल्याएको बजेटले सकारात्मक सन्देश दिएको र यसले आर्थिक गतिविधिमा गति दिने टिप्पणी गरे। उनले मौद्रिक नीति पनि कडा नभएकोले ब्याजदर घटाउन सहयोग पुगेको बताए।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का पूर्व कार्यकारी अधिकृत नीरज गिरी ले पनि पुँजी बजारका लागि अनुकूल वातावरण सिर्जना भएको तर्क गरे। उनले सेबोन ऐनमा संशोधन आवश्यक रहेको सुझाव दिए। चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई ले बिजुली, यातायात र वित्तीय क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको बताए।